यही पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘देव वाणी’को सफलताको कामना गर्दै काल भैरव मन्दिरमा पूजा गरिएको छ। निर्देशक बाबु साहेव बलामी, अनुजा लेप्चा, कार्यकारी निर्माता मन कुमार लेप्चा, रमेश ढुंगेल झापालीलगायतको उपस्थितिमा पूजा गरिएको हो ।
पूजापछि पत्रकारसँग कुरा गर्दै बलामीले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। प्रचारको लागि चलचित्रका नायक कुन्दन भारद्धाज केही दिनमै नेपाल आउने उनले बताए। नायिका लेप्चाले चलचित्रलाई लिएर आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन्।
चलचित्रमा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय छ। चलचित्रमा भारद्धाज र लेप्चालाई डेब्यू गराइएको छ।
एक्सन प्रधान चलचित्रमा कुन्दन र अनुजाको स्क्रिन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ। चलचित्रलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। नेपाली र हिन्दी भाषामा निर्माण गरिएको चलचित्रलाई मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्। चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ।