सौगातको ‘बम बहादुर’ले दर्शकको मन जित्ला ?

१ पुष २०८१ ५:३१

चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । उक्त समारोहमा अभिनेता सौगात मल्लले यो चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

यही पुस ५ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने यो चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा उतारेको छ । यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेछ ।

लेखक तथा निर्देशक जोन राईले यो चलचित्र बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए । चलचित्रको महत्वलाई उजागर गर्दै राईले भने, ‘अर्को उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस् । भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो ।’

अभिनेता मल्लले चलचित्रमा दर्शकले आफ्नै कथा देख्ने अपेक्षा गरे । ‘मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ । स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन । नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ,’ उनले भने।

त्यस्तै, यो चलचित्रकी नायिका अनिशा रसाइलीले यो चलचित्रले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन् । ‘म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो । मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस् । हामी सबै एउटै हौँ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *