निर्देशक ऋषि लामिछानेले निर्देशन गर्ने नयाँ चलचित्र नाम ‘माग्ने राजा’ राखिएको छ । बिहीवार निर्माणपक्षले चलचित्रको नाम सहितको एक पोष्टर सेयर गर्दै यसबारे जानकारी दिएको हो । निर्देशक लामिछानेले केही समयअघि यो चलचित्रको अफिसियल निर्माणको घोषणा गरेका थिए ।
यो चलचित्रको प्रमुख भूमिकामा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र नायिका वर्षा सिवाकोटी अनुबन्धित भएका छन् । निर्माणपक्ष, केदार र वर्षाबिच कागजी सम्झौता भइसकेको छ । केदार र वर्षाले चलचित्र ‘छक्कापञ्जा ५’मा एकसाथ काम गरेका थिए ।
‘माग्ने बुढा’को नाम बाट प्रख्यात केदारकै नाम सँग मिलाएर चलचित्रको नाम ‘माग्ने राजा’ राखिएको बुझिएको छ । यो नाममा केहीसमय अगाडि दीपक दीपाले चलचित्र बनाउने तयारी गरेका थिए । तर, अब यो नाम दीपकदीपाको हातबाट उम्किसकेको छ । समीप्यराज तिमल्सेनाको लेखन रहेको यो चलचित्रका निर्माता मुनाल घिमिरे हुन् ।
निर्देशक लामिछानेले आठ वर्षपछि यो चलचित्रबाट निर्देशनमा कमब्याक गर्न लागेका हुन् । पछिल्लोपटक उनले सन् २०१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए । त्यस्तै, मुनाल पुरानो निर्माता हुन् । यसअघि ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण गरेका उनी लामोसमयपछि चलचित्र निर्माणमा फर्किएका छन् ।
कमेडी कथावस्तुमा निर्माण हुने यो चलचित्रको आगामी फागुन १ गतेबाट छायांकन गरिने तयारी निर्माणपक्षको छ । आरम्भ प्रोडक्सनको प्रस्तुति रहने चलचित्रमा केदार बाहेक अन्य कलाकार छनौटको क्रममा छन् ।