रोहित अधिकारीले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘माइतीघर’मा कलाकार जोडीने क्रम अझै सकिएको छैन् । केहीसमय अगाडि मात्र यो चलचित्रको प्रमुख भूमिकामा निर्माणपक्षले नायिका उपासना सिंह ठकुरीलाई फाइनल गरेको थियो ।
यो चलचित्रको लाइनअपमा बिहीवार अर्का कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, र बुद्धि तामाङ पनि जोडीएका छन् । निर्माता अधिकारीले यी तीनै जना कलाकारहरुलाई बिहीवार यो चलचित्रमा अनुबन्धित गरेका छन् । चलचित्रमा अनुबन्धित गरेसगै लिखित सम्झौता पनि गरिएको छ ।
निर्माणपक्षका अनुसार चलचित्रमा अझै केही कलाकार अनुबन्धित हुन बाँकी छ । बुझिएअनुसार, चलचित्रमा धीरज मगर पनि रहने चर्चा छ । तर, यस बिषयमा निर्माता अधिकारीले केही बोल्न चाहेनन् । चलचित्रलाई निर्देशक मिलन तामाङले निर्देशन गर्नेछन् । मिलनको यो डेब्यु चलचित्र हो ।
सामाजिक कथावस्तुमामा निर्माण हुने यो चलचित्रले पारिवारिक सम्बन्ध र संवेदनाको कथालाई उठान गर्नेछ । चलचित्रको छायांकन आगामी चैत महिनाबाट गरिनेछ ।
चलचित्रमा रामशरण पाठकको लेखन, रविन शेरचन र धिरज तामाङको सयुक्त निर्माण रहनेछ । यो चलचित्रको कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ छन् । चलचित्रलाई २०८२ सालको दशैंमा प्रदर्शन गर्ने घोषणा निर्माणपक्षले यसअगाडि नै गरिसकेको छ ।
यो नाममा आजभन्दा ५८ बर्ष अगाडि नै चलचित्र निर्माण भइसकेको छ । यही नाममा चलचित्र निर्माण गर्न लागेका रोहितका अनुसार, पटका अली फरक कथा र पटकथा रहनेछ । यसअगाडि रोहितले निर्माण गरेको चलचित्र ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’ हुन् ।