अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले निर्माण गरेको चलचित्र ‘ह्रस्व दीर्घ’लाई भारतको लोकप्रिय ओटीटी प्लेटफर्म ‘जी फाइब’ले किनेको छ । बुधबार चलचित्रकी निर्मात्री तथा अभिनेत्री निता र अभिनेता हरिहर अधिकारीले जी फाइबसँग लिखित संझौता गरेका हुन् ।
‘जी फाइब’ले किनेको निता र हरिहरले फेसबुकमार्फत जानकारी गराएका हुन् । भारतको लोकप्रिय ओटीटी प्लेटफर्ममा विक्री भएको यो पहिलो नेपाली चलचित्र हो ।
निता र हरिहर जापान प्रदर्शन सकाएर सिधै भारत पुगेका थिए । निता र हरिहरको साथमा यो चलचित्रका छायाकार कवीरलाल पनि थिए । कवीरलाल बलिउडका प्रख्यात छायाकार हुन् ।
जी फाइबले यो चलचित्रको दुईवटा राइट्स कति मूल्यमा खरिद गरेको हो भन्ने खुलाइएको छैन । जी फाइबलाई भारतको ठुलो मिडिया समूहमा गनिन्छ । यो कम्पनीले विश्वभर ४५ बढी टिभी च्यानल सञ्चालन गरिरहेको छ ।
यो चलचित्रमा नेपाली निता र हरिहरको अलवा दक्षिण भारत (साउथ)का चर्चित कलाकार ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको पनि अभिनय छ । यो चलचित्र नेपालमा गत कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको थियो भने नेपाली बक्स अफिसमा यो चलचित्रले १० करोड माथिको ब्यापार गरेको तियो ।