कमेडियन ३० वर्षीय हिक्मत महराको सडक दुर्घटनामा निधन भएको छ । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका महराको मंगलबार राति निधन भएको हो ।
कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा उनले हाँकिरहेको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।
गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त रियालिटी शोमा उनी उत्कृष्ट ४ मा प्रवेश गरेका थिए । कमेडी च्याम्पियनमा महराले सामाजिक मुद्दामा सशक्त हास्यव्यंग्य प्रस्तुति दिएका थिए ।
‘कमेडी च्याम्पियन’को दोस्रो सिजनबाट निकै चर्चामा आएका महरा शुक्लाफाँटा नगरापालिका–११ कलुवापुर बनसाहका बासिन्दा हुन् ।