आगामी पुस ५ गते रिलिज हुने चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । यो चलचित्रको सोमबार दार्जिलिङमा प्रिमियर सम्पन्न गरिएको हो।
सञ्जीव सार्कीको निर्माण र जोन राईको निर्देशन रहेको यो चलचित्रको दार्जलिङ प्रिमियरमा यो चलचित्रले दर्शकहरूको प्रशंसा पाएको छ । चलचित्र हेरेका सबैले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यस चलचित्रको प्रिमियर शो आयोजना गरेको थियो ।
प्रिमियरमा चलचित्र निर्माणमा उनीहरूको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र चलचित्रका टिममा रहेका सदस्यलाई सम्मान गरिएको थियो । अन्य चलचित्रको छायांकनमा व्यस्त रहेका कारण प्रमुख अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिएनन् । अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको प्रिमियरमा उपस्थिति रह्यो ।
नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने यो चलचित्रले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ । चलचित्रले सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा प्रस्तुत गरेको छ ।