नेपाल चलचित्र संघले अबदेखी सेभेन सिजले निर्माण गरेको कुनै पनि चलचित्र प्रदर्शन नगर्ने बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सेभेन सिजले ‘पुर्ण बहादुरको सारङ्गी’लाई हलबाट उतार्ने भन्दै निकालेको विज्ञप्तिको धारणा स्पष्ट पार्नुपर्ने चेतावनी दिएको हो ।
यसअघि पनि निर्माताले आफ्नो चलचित्रलाई उतार्ने चेतावनी दिँदै आएको र चलचित्र संघका सदस्यहरुको मानमर्दन गर्दै आएको चलचित्र संघले बताएको छ । अब उप्रान्त यस्ता मानमर्दन हुने खालका कुनै पनि हर्कत नगर्न र नगराउन चलचित्र संघले सजकता समेत गराएको छा ।
सार्वजनिक विज्ञप्तीमा यस्तो लेखिएको छ–‘यस्तो कार्य नेपाल चलचित्र संघलाई कदापि सह्य हुँदैन । तसर्थ, जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने कुनै पनि चलचित्र नेपाल चलचित्र संघका सदस्यहरूले प्रदर्शन नगर्ने जानकारी समेत गराउन चाहन्छौं । हेक्का रहोस्, चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’को उत्साहजनक व्यापारमा चलचित्र प्रदर्शकको समेत महत्वपूर्ण योगदान रहेको छ ।’
त्यस्तै, चलचित्र संघले प्रदर्शकसँग कुनै गुनासोहरु भएमा आफ्नो चलचित्र वितरक मार्फत उक्त गुनासोहरु व्यक्त गर्न समेत आग्रह गरेको छ ।