विजय बरालअको प्रमुख भूमिका रहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने भएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निर्माण कम्पनी सेभेन सिजले सोमबारदेखि यो चलचित्रलाई हलबाट उतार्ने घोषणा गरेको थियो । तर, वितरण कम्पनी टी–फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले हललाई चलचित्र प्रदर्शनमा रोक नलगाउन आदेश दिएको हो ।
४८ करोड हाराहारीको ग्रस कलेक्शन गरेको यो चलचित्रलाई हिन्दी चलचित्र ‘पुष्पा २’ प्रदर्शन भएपछि सीमित शोजमा खुम्चाइएको भन्दै सोमबारदेखी हलबाट उतार्ने निर्णयमा सेभेन सिज थियो । सेभेन सिजको यस्तो निर्णयपछि वितरण कम्पनी टी–फोकले ‘कृपया, योजनाअनुसार नै पूर्णबहादुरको सारङ्गीको प्रदर्शनलाई अघि बढाउ र चलचित्रलाई हलबाट उतार्ने कुरालाई बेवास्ता गर्न अनुरोध गरेको हो ।
वितरण कम्पनी र निर्माता कम्पनीबीच भएको सहमतिको दोस्रो नम्बर बुँदामा लेखिएको छ–‘दोस्रो पक्ष(निर्माण कम्पनी)ले नेपाली हलहरुमा रिलिज गरेको मिति कात्तिक १५, २०७५ गतेबाट ६ महिनाको लागि नेपाली फिल्मको वितरण एवं प्रदर्शन गर्ने अधिकार प्रथम पक्ष(वितरक)मा निहित रहनेछ । उक्त समयावधि दुवै पक्षको आपसी सहमतिमा थपघट गर्न सकिनेछ । प्रथम पक्षको वितरण एवं प्रदर्शन सम्बन्धी अधिकारलाई दोस्रो पक्षले कुनै पनि आधार र कारण देखाई नकारात्मक असर पर्न सक्ने क्रियाकलाप गर्न पाइने छैन । तर, यो व्यवस्थाले कानून विपरीत कार्य गर्न छुट दिएको मानिने छैन ।’
यो चलचित्र गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको थियो । जुन, नेपाली चलचित्रको क्षेत्रको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गर्न सफल भएको थियो ।