नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी माघ ११ गते प्रदर्शन गर्न लागिएको हो ।
बिहीवार नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएको तस्वीर सार्वजनिक गर्दै नयाँ रिलिज मिति सार्वजनिक गरिएको हो । यसअघि यो चलचित्र गत कार्तिक ३० गते प्रदर्शन हुने पूर्व योजना थियो ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण गरिएको यो चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । त्यस्तै, अमितेष शाह विशेष भूमिका छन् ।
मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत रहेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।