नायक सौगात मल्लको प्रमुख भूमिका रहेको चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिलसँगै गोर्खाल्यान्डका लागि भएको संघर्षलाई प्रस्तुत गरेको पाईन्छ ।
ट्रेलरमा ‘गोर्खा ल्यान्ड’को विषयलाई मुख्य कथावस्तु बनाएको देखिन्छ । २०७४ सालमा ‘गोर्खा ल्यान्ड’को माग गर्दै भारतको दार्जिलिङमा ठूलो आन्दोलन भएको थियो । यो चलचित्रले ट्रेलरले यही आन्दोलनको विषयलाई उठान गरेको अनुमान गर्न सकिन्छ ।
यो चलचित्रलाई जोन राईले निर्देशन गरेका हुन् । उनले दार्जिलिङ र डुअर्स क्षेत्रका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न यो चलचित्र निर्माण गरेको उनको भनाइ छ । उनका अनुसार यो चलचित्रमा सस्पेन्स, थ्रिल, रोमान्स र सोसल ड्रामा समेटिएको छ । नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने यो चलचित्र क्रिसमस डेको विदालाई लक्षित गर्दै पुष ५ गते प्रदर्शन हुनेछ ।
चलचित्रमा सञ्जीव सार्की निर्माता छन् भने जोन राई र रुपेश तामाङको कथा/पटकथा र सुजोय कुमार घोष ‘मुन्ना’को छायांकन छ । चलचित्रमा सौगातसहित कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको पनि अभिनय छ ।