समर निरौलाको डेब्यु निर्देशकीय चलचित्र ‘मम्मी’को फस्टलुक सँगै प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले मंगलबार यो चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिती घोषणा गरेको हो । यो चलचित्र माघ २५ गते प्रदर्शन हुनेछ ।
हरर फेमिली ड्रामामा निर्माण गरिएको यो चलचित्रको सार्वजनिक पोस्टरमा प्रियंका कार्की र दीया मास्के फिचर्ड छन् । पोस्टरमा प्रियंकालाई गम्भीर रुपमा देखाइएको छ भने अर्की अभिनेत्री दीयाको डरलाग्दो रगताम्य अनुहार प्रस्तुत गरिएको छ ।
यो चलचित्रले नेपाली समाजमा दबिएर रहेको एक परिवारकी छोरी र कुकुरको दुःखद निधनपछि रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तिने विपत्तिको कथालाई पेश गर्छ।
पूर्णिमा जोशी र निर्देशक निरौलाको पटकथा रहेको यो चलचित्रमा निशल पौडेल र शरद महतोको छायांकन, सुरेन महर्जनको सम्पादन रहेको छ भने लोकराज जोशी र पूर्णिमा जोशी लगानीकर्ता हुन् ।
सो–ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रियंकासहित दीया मास्के, सुलक्षण भारती, समीप निरौला, जेभिस श्रेष्ठ, आयुशी ढकालको अभिनय छ ।