नायिका गरिमा शर्मा ‘जन्ते बाख्रो’मा मुख्य भूमिकामा प्रवेश गरेकी छिन् । यो चलचित्रको मुख्य भूमिकाको लागि निर्माणपक्षले गरिमालाई शुक्रबार अनुबन्धित गरेको हो ।
बुझिएअनुसार गरिमा यो चलचित्रको लागि अडिसनबाट सेलेक्ट भएकी हुन् । निर्माणपक्षले गरिमा सँग शुक्रबार नै लिखित सम्झौता गरेको छ । यो चलचित्रमा उनी अभिनेताद्वय सौगात मल्ल र आसिफ शाहसँग देखिनेछिन् ।
टिकटकबाट म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी गरिमा पहिलोपटक आफू मुख्य भूमिकामा देखिन पाउदा निकै उत्साहित देखिएकी छिन् । उनको पहिलो डेब्यु चलचित्र ‘लण्डन टू पेरिस’ हो भने दोस्रो चलचित्र ‘ह्रस्व दीर्घ’ हो।
आगामी पुष १ गतेबाट छायांकन सुरु हुने यो चलचित्रको केही दिनमा वर्कसप सुरु हुने निर्माणपक्षले जनाएको छ । कमेडी कथावस्तुमा निर्माण हुने चलचित्रलाई सन्तोष गौतम निर्माण गर्नेछन् । मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गर्ने यो चलचित्रमा प्रदीप भारद्वाजको लेखन रहनेछ ।