आइतबारबाट छायांकन हुने ‘डोरी’को मुहूर्त सम्पन्न

१३ मंसिर २०८१ ७:४६

आइतबारदेखी छायांकन सुरु हुने चलचित्र ‘डोरी’को शुभ मुहूर्त सम्पन्न गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न मुहूर्त सम्पन्न गरिएको हो ।

चलचित्रको मुहूर्त कार्यक्रममा कलाकारहरु प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायतका कलाकारहरूले पूजामा सरिक हुँदै चलचित्रको सफलताका कामना गरे । साथै, निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रह्यो । चलचित्रमा कविता आले, सजन श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।

निर्देशक अरुण लामाका अनुसार यो चलचित्र ‘डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो चलचित्रका पात्रहरू आ-आफ्ना तरिकाले बाँधिने छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले बाँधिने बताए ।

लामाका अनुसार, ‘डोरी’ले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथा मार्फत जीवन्त बनाउनेछ । “यस चलचित्रले दर्शकलाई आत्मसात् गराउनेछ, जहाँ उनीहरूले आफूलाई पात्रहरूमा देख्न सक्नेछन्,” उनले थपे ।

चलचित्रकी प्रमुख अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएको बताइन् । त्यस्तै, अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई विभिन्न श्रेणीको मिश्रण रहेको चलचित्रका रूपमा परिभाषित गरे ।

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *