गत कार्तिक १५ गतेबाट प्रदर्शन भएको चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ देशव्यापी रुपमा सफल मात्र भएन । यो चलचित्रका मुख्य कलाकार विजय बरालको डिमान्ड पनि उत्तिकै बढ्यो । अहिले उनी यती व्यस्त छन् कि उनलाई समय मिलाउन निकै गार्हो पर्छ ।
आफ्नो व्यस्त समयलाई केन्द्रमा राख्दै विजयले यतिबेला ‘लाज शरणम्’को छायांकन सकाएका छन् । पहिलो चरणको छायांकन दशैं अघि डोल्पामा गरिएको यो चलचित्रको दोस्रो चरणको छायांकन माइतीघर स्थित खाद्य गोदामबाट मंगलबार गरिएको थियो ।
यो चलचित्रको अहिलेसम्म ९५ प्रतिशत छायांकन सकिएको छ भने अब ५ प्रतिशत मात्र छायांकन गर्न बाँकी छ । त्यसपछि निर्माणपक्षले आफ्नो पोस्ट प्रोडक्सनको कामलाई तिव्र रुपमा अगाडि बढाउने जनाएको छ ।
जेपिटी क्रियशनको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रलाई सुदिप बरालले छायांकन गरिरहेका छन् । कुमार कट्टेलले निर्देशन गरिरहेको चलचित्रमा नविन श्रेष्ठ निर्माता र नरेश शाह सह–निर्माताको रुपमा छन् ।
चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, बबिन राई, राजभक्त कामत, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्र आगामी फागुन १४ गते महाशिवरात्री बाट देश्व्यापी प्रदर्शनमा आउनेछ ।