गत कार्तिक १५ गते लक्ष्मीपुजा बाट प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’लाई चोरीको आरोपमा उजुरी परेको छ । आफ्नो बौद्धिक सम्पत्ती चोरी गरेको भन्दै मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित ‘लाज’ चलचित्रका लेखक अजित लामिछानेले उजुरी दर्ता गरेका हुन् ।
लामिछानेका अनुसार ‘लाज’को कथासार र केही प्लट तोडमोड गरेर ‘पूर्णबहादुरको सारङ्गी’ निर्माण गरेको आरोप छ । लामिछानेले दुई वर्ष पहिले नै ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को कथा, पटकथा तथा संवाद सुनाएको र अहिले सोही कथा यो चलचित्रमा पाइएको उनको भनाइ छ ।
लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएकाले यो चलचित्रका निर्देशकदेखि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी सृजनामाथिको प्रतिलिपि अधिकार हनन् हुनबाट जोगाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले केही दिनअघि फेसबुकमा पनि स्टाटस लेख्दै ‘लाज’को कथासार र प्लट ‘पूर्णबहादुरको सारङ्गी’मा चोरिएको आरोप लगाएका थिए ।