नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘मायावी’ फागुन १४ गते रिलिज हुने भएको छ । आइतबार निर्माणपक्षले चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै शिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गतेलाई रिलिज मिती फाइनल गरेको हो ।
दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको यो चलचित्रले पटकपटक प्रदर्शन मिति परिवर्तन गर्दै आएको थियो । अब भने फागुन १४ गतेलाई नै फाइनल मिती तोकिएको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्रको सार्वजनिक पोस्टरमा पल शाह र दीपिका प्रसाईं फिचर्ड छन् भने पलको आँखामा आँशु देख्न सकिन्छ । उनी दीपिकालाई हेरेर रोहिरहेका छन् भने दीपिकाको अनुहार पनि मलिन देखिन्छ ।
निर्देशक भट्टराई स्वयंको कथा लेखन रहेको यो चलचित्रमा पल र दीपिका सँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।