चलचित्र निर्माण कम्पनी हरि ओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले निर्माण गर्न लागेको चलचित्र ‘परालको आगो’मा नायिका सुहाना थापा अनुवन्धित भएकी छिन् । निर्माता पोखरेल र नायिका थापा बिच शुक्रबार लिखित सम्झौता भएको हो ।
कथाकार गुरु प्रसाद मैनालीको कृतिमा आधारित रहने यो चलचित्रमा सुहाना थापा गौँथलीको भूमिकामा प्रस्तुत हुनेछिन् भने चलचित्रले दुई पात्र चामे र गौँथलीको झगडाको कथा प्रस्तुत गर्नेछ ।
आगामी फागुनदेखि छायांकन सुरु गरिने यो चलचित्रको टिमसँग जोडीन पाउदा सुहाना निकै उत्साहित देखिएकी छिन् । होम पोडक्सनको ब्यानरमा मात्र सिमित रहेकी सुहानाले योपटक भने बाहिरी ब्यानरको चलचित्रमा काम गर्न लागेकी हुन् ।
लक्ष्मण सुनारले निर्देशन गर्ने यो चलचित्रलाई फरक तरिकाले निर्माण गर्ने निर्माता पोखरेलले बताए । आजभन्दा ४५ बर्ष अगाडि निर्देशक प्रताप सुब्बाले यही नाममा चलचित्र बनाएका थिए । तर, यो पटक भने लोकेशन, प्रस्तुतीकरण र पटकथा फरक हुनेछ । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने लक्ष निर्माणपक्षको छ ।