निर्देशक अरुण लामाको लेखन तथा निर्देशन रहने चलचित्र ‘डोरी’मा अभिनेत्री अञ्जना बराइलीको इन्ट्री भएको छ । यो चलचित्रको प्रमुख भूमिकामा उनलाई अनुबन्धित गरेको निर्देशक लामाले बताए । अञ्जनाको ‘पूर्ण बहादुरको सारङ्गी’ अहिले सफलताका साथ हलमा चलिरहेको छ ।
मङ्सिर दोस्रो साताबाट छायांकन सुरु हुने यो चलचित्रमा अञ्जनासँगै अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् । चलचित्रमा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायत प्रवेश गरेका थिए ।
हरर, थ्रिलर, एक्सन र कमेडी जनरामा निर्माण हुने यो चलचित्रले परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको कथा भन्नेछ ।
जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रको मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।