शनिबारसम्म ३० करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको नेपाली चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’लाई मोफसलका १९ हलबाट उतार्ने निर्णय यसको निर्माणपक्षले गरेको छ । निर्माण कम्पनी सेभेन सिजले १९ वटा हलले ‘फेक रिपोर्ट’ दिएको भन्दै चलचित्र उतार्ने बोल्ड निर्णय लिएको हो ।
कम्पनीका अनुसार, अरुण हल विराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सीबी हल इनरुवा, एभरेष्ट हल राजगढ, धनकुटा हल धनकुटा, फिदिम हल पाँचथर, त्रिशुली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमुर्ती हल र गिरिराज हल जनकपुरबाट चलचित्र उतारिएको हो ।

चलचित्रका निर्माता विनोद पौडेलले यी सबै हलले फेक व्यापारिक रिपोर्ट दिएपछि हलबाट चलचित्र उतारिएको हो । आफ्नो घरको फोहोर आफै सफा गर्नुपर्छ भन्दै सेभेन सिजले एउटा बोल्ड निर्णय लिएको छ । चलचित्र सम्बन्धी संघसंस्थाहरु समेत यस्तो घोटला हुँदा पनि आँखा चिम्लिएर बसेको अवस्थामा एक चलचित्र निर्माण कम्पनीले बोल्ड निर्णय लिदै फिल्म क्षेत्रमा कम्पन ल्याइदिएको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन, महेश दवाडीको संवाद रहेको यो चलचित्रले नेपाली चलचित्रको इतिहासमा सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्रको रेकर्ड बनाइसकेको छ ।