नायिका उपासना सिंह ठकुरीले नायक विपिन कार्कीसँग पहिलो पटक पर्दा शेयर गर्ने भएकी छिन् । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा विपिन र उपासनाको सहकार्य पक्का भएको हो । यो चलचित्रका लागि विपिनले ८ केजी तौल बढाइसकेको निर्देशक चौधरीले जानकारी दिए । उनका अनुसार, यसपटक विपिनलाई केही फरक गेटअपमा देखाउने तयारी गरिएको छ ।
चलचित्रमा भिलेनको रुपमा कलाकार मुकुन भुषाले काम गर्दैछन् । मुकुन ‘पुर्ण बहादुरको सारङ्गी’ चलेपछि उत्साहित छन् भने चलचित्र ‘खुस्मा’ले उपासनाको करिअरलाई पनि राहत दिएको छ ।
यो चलचित्रको छायांकन मंसिरको २० गतेबाट सुरु हुँदैछ । चलचित्रमा बसन्त लम्सालको लगानी रहनेछ । चलचित्रलाई चैत्रको २९ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
यो चलचित्रको बिषयमा सौरभले भने–‘यसपटक फिल्ममा कमेडी, रोमान्स, एक्सन, प्रेम सबै समावेश गर्दैछौं । दर्शकले एउटा पूर्ण कमर्सियल चलचित्र हेर्न पाउनुहुनेछ ।’ सौरभले निर्देशन गरेको चलचित्र ‘अगस्त्य’ले गतबर्ष चर्चा पाएको थियो ।