कार्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’को व्यापार ३० करोड नजिक पुगेको छ । घरेलु बक्स अफिसमा बिष्फोटक व्यापार गरिरहेको यो चलचित्रले तेस्रो शनिबारसम्म ३० करोडको ब्यापार सजिलै गर्ने अनुमान गरिएको छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार चलचित्र ‘१२ गाउँ’ले बनाएको २५ करोड ५० लाखको ग्रस कलेक्शनलाई उछिन्दै प्रदर्शनको १४ दिन बुधबारसम्ममा ‘पुर्ण बहादुरको सारङ्गी’ले २७ करोड ३५ लाख रुपैयाँको ब्यापार गरेको हो ।
यो चलचित्रले प्रदर्शनको १३ दिन मंगलबारसम्म देशभरबाट २५ करोड ४ लाख रुपैयाँको ब्यापार गर्दै सर्वाधिक कमाउने नेपाली चलचित्रको इतिहास रचेको थियो । त्यस्तै ‘पुर्ण बहादुरको सारङ्गी’ले विजयको आफ्नै चलचित्र ‘कबड्डी ४’को २३ करोड ५० लाख रुपैयाँ ग्रस कमाइको रेकर्डलाई उछिन्दै नयाँ कीर्तिमान समेत कायम गरेको थियो ।
रेकर्डमाथि अर्को रेकर्ड बनाइरहेको यो चलचित्रले ४० करोड हारहारीको ग्रस कलेक्शन गर्ने प्रक्षेपण गरिएको छ । चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन, महेश दवाडीको पटकथा तथा संवाद रहेको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा तयार भएको यो चलचित्रमा विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, अन्जना बराइलीको मुख्य भूमिका छ ।