म प्रोटोगोनिस या एन्टोगोनिस भूमिका मात्रै रोज्दिनँ : माओत्से

३० कार्तिक २०८१ ५:५९

निर्देशन र अभिनयमा अब्बल रहेका कलाकार माओत्से गुरुङले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । उनको अभिनय रहेको चलचित्र ‘अग्निदहन’ आगामी मंसिर ७ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्र मार्फत माओत्से धामीको चरित्रमा दर्शकमाझ प्रस्तुत हुँदैछन् । माओत्सेका अनुसार उनलाई यो चलचित्रमा धामीको चरित्र निभाउन सजिलो थिएन । ‘एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । मैले यो चरित्रका लागि धेरै तयारी पनि गरेको थिइनँ । म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ ।’ उनले भने ।

माओत्सेका अनुसार धामी झाँक्रीले गरेको पुजाआजा र अनुष्ठान बच्चै देखि देखेको हुनाले पनि ‘धामी’ चरित्र निभाउन अनुसन्धान नगरेको खुलाए । ‘घरमा सामन्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ।’ उनी भन्छन् ।

यो चलचित्रको ट्रेलरमा धामी बनेका उनले महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गरेका छन् । उनी आफू कथाको पात्र मात्र भएर यो काम गरेको बताउँछन् । माओत्सेकै भनाईमा यो काममा उनलाई खासै समस्या भने भएन ।

उनले जुनसुकै चरित्र निभाउँदा पनि आफ्नो ‘इमेज’ बिग्रिएला भन्ने डर नभएको उनी बताउछन् । ‘अग्निदहन’मा धामी चरित्र निभाइरहँदा उनले यही कुरालाई मनन गरेका छन् ।

उनी भन्छन्,‘म कलाकार हुँ । चलचित्र अथवा नाटकमा अभिनय गर्दा म प्रोटोगोनिस या एन्टोगोनिस मात्रै भूमिका गर्छु भनेर कहिल्यै रोज्दिनँ । मेरो भूमिकाले चलचित्रमा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु।’

यो चलचित्रका निर्देशक घनश्याम लामिछानेले उनलाई सुहाउने एउटा रोल छ भनेपछि उनी यो चलचित्रमा धामीको भूमिकाका लागि सहमत भएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *