कात्तिक ३० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’को बूकिङ खुल्ला गरिएको छ । चलचित्र प्रदर्शन हुन दुई दिन बाँकी रहदा यसको बूकिङ खुल्ला गरिएको हो ।
चलचित्रलाई एफक्यूब हलले ४ शोज दिएको छ भने देशभरका सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकामा २१ र उपत्यका बाहिर २४ शोज दिएको छ । अहिले हलमा ‘पुर्ण बहादुरको सारङ्गी’ले बम्परको ब्यापार गरिरहेको कारण ‘ह्रस्व दीर्घ’ले निकै कम शोज पाएको हो । यो चलचित्रको वर्ड अफ माउथ बलियो भएको खण्डमा शोज वृद्धि हुनेछ ।
पहिलो र दोस्रो सातामा आक्रामक कमाइ गरेको ‘पुर्ण बहादुरको सारङ्गी’को तेस्रो सातामा आइपुग्दा पनि आक्रमकको ब्यापार गरिरहेको छ । हलमा चलचित्र हेर्ने दर्शकको भिड अझै उस्तै छ । त्यसैले पनि नीताको ‘ह्रस्व दीर्घ’को वर्ड अफ माउथ बलियो हुन निकै महत्वपूर्ण मानिएको छ ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको यो चलचित्रमा हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ । यो चलचित्रमा बलिउडका प्रसिद्ध छायाँकार कवीरलालले खिचेका हुन् । नीता ढुंगाना निर्माता र धनन्जय गलानी कार्यकारी निर्माता रहेको यो चलचित्र विश्वभर नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ ।
६ करोडको लगानिमा निर्माण गरिएको यो चलचित्रमा अभिनेत्री ढुंगाना र हरिहर अधिकारीको साथमा ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।