निर्देशक सुयोग गुरुङले निर्देशन गरिरहेको चलचित्र ‘जेरीः अन टप’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ । तिहार सकिएसँगै यो चलचित्रको छायांकनका लागि कलाकार तथा प्राविधिकको टोली लुक्ला पुगेको हो । चलचित्रको पहिलो चरणको छायांकन काभ्रेमा गरिएको थियो ।
सरोज न्यौपानेको लगानीमा निर्माण भइरहेको यो चलचित्रको लुक्लामा महत्वपूर्ण दृश्यहरूको छायांकन हुने निर्माणपक्षले जनाएको छ । त्यसपछि निर्माणपक्ष छायांकनका लागि लद्दाकमा प्रस्थान गर्नेछ ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रमा अनमोल केसी प्रमुख भूमिकामा छन् । त्यस्तै, चलचित्रमा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, विपना थापा लगायतका कलाकारहरुको अभिनय छ ।
आगामी फागुनको २ गते प्रदर्शन हुने यो चलचित्र ५ करोडको बजेटमा बन्ने निर्माणपक्षले जनाएको हो ।