जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गर्दै कास्टिङ कलको घोषणा गरिएको हो ।
हरर, थ्रिलर, एक्सन र कमेडीको जनरामा निर्माण हुने यो चलचित्रको निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ गते (आगामी सोमबार) बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा हुने जनाएको छ । अडिसनमा सहभागी हुन इच्छुक कलाकारहरूले आफ्नो अभिनय कौशल देखाउन छोटो मोनोलग वा कुनै दृश्य प्रस्तुत गर्नुपर्ने निर्देशक अरुण लामाले बताए । यसको लागि १८ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष कलाकारहरूले कम्तीमा २ मिनेट लामो दृश्य प्रत्यक्ष प्रस्तुत गर्नुपर्नेछ । अडिसनबारे प्रत्यक्ष जानकारी लिन चाहेमा [email protected] मा इमेल वा फोन नम्बरहरू ९८४००१६६४०, ९८४७९४२९१५ र ९८४५८९२७३४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।
एक सङ्घर्षशील युवाको जीवनमा आधारित यो चलचित्रले आफ्नो परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न जोखिमपूर्ण निर्णय लिन्छ । हाँसो, त्रास, र सङ्घर्षलाई रोचक ढङ्गले प्रस्तुत गर्ने यो चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहनेछ । प्रमुख अभिनेत्री भने छनोट हुन बाँकी छ ।
आगामी वर्ष २०२५ मा प्रदर्शन हुने यो चलचित्रको कथा लेखक स्वयं अरुण लामाले लेखेका हुन् भने मनोज पण्डितले स्क्रिप्टलाई थप प्रभावकारी बनाउन डक्टरिङ गरेका छन् । चलकित्रको निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामाले सम्हाल्नेछन् भने एक्सन निर्देशन राजु तामाङले गर्नेछन् ।