हलमा ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’, कस्को ओपनिङ कस्तो ?

२४ असोज २०८१ २:५१

आजबाट तीन नेपाली चलचित्रहरु ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएक छन् । आज दशैं फूलपातिको अवसर पारेर प्रदर्शनमा आएका यी चलचित्रहरुलाई निकै प्रतिक्षित मानिएको छ । यी तीन चलचित्रहरुको केही दिन अगाडि नै बुकिङ खुलाइएको थियो ।

चलचित्रको अग्रिम बूकिङ हेर्दा यी तीन चलचित्रमध्य दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्कापञ्जा ५’को बूकिङ आक्रामक छ । त्यस्तै अभिनेता विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ दोस्रो नम्बरमा र वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’ तेस्रो नम्बरमा छ ।

यसरी हेर्दा ‘छक्कापञ्जा ५’को ओपनिङ घरेलु बक्सअफिसमा आक्रामक हुने देखिएको हो । बुधबार रातीसम्मको अग्रिम टिकट विक्री हेर्दा प्राप्त कूल २३० शोमध्ये ६५ शो ‘सोल्डआउट’ भएको र अधिकांश शोको अकुपेन्सी ९०, ८०, ६० प्रतिशत क्रमशः छन् ।

भ्रष्टाचारको कथामा निर्माण गरिएको यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा, निर्मल शर्मा, वर्षा सिवाकोटी लगायतको अभिनय छ ।

‘१२ गाउँ’ पनि दर्शकको लागि निकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र हो । यो चलचित्रमा अभिनेता विराज भट्टको निर्देशन, निर्माण र अभिनय रहेको छ । चलचित्रको प्रमुख भूमिकामा विराजका छोरा समीर भट्ट छन् ।

एक्सनप्रधान र सामाजिक कथावस्तुमा निर्माण गरिएको यो चलचित्रको ओपनिङ सुखद हुने देखिएको छ । चलचित्रको बुधबार रातीसम्मको अग्रिम टिकट हेर्दा देशभर प्राप्त गरेको १४० शोमध्ये रातीसम्म २० शो सोल्डआउट छ।

चलचित्रमा विराज भट्ट, समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, कजिन कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘ज्वाइँ साब’मा कलाकार जितु नेपाल र नीति शाहको प्रमुख भूमिका छ । कमेडी जनरामा निर्माण गरिएको यो चलचित्रको बुधवार रातीसम्मको टिकट विक्री हेर्दा निकै सुस्त छ । चलचित्रमा जितुसहित नीति शाह, हिमेश पन्त, बुद्धि तामाङको अभिनय यसमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *