निर्देशक तुलसी घिमिरेले निर्देशन गर्ने नयाँ चलचित्र ‘पहाड’मा अभिनेता विपिन कार्कीले र्याप गीत गाएका छन् । उनले आइतबार काठमाडौंको महाराजगञ्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा यो चलचित्रका लागि र्याप गीत गाएका हुन् । विपिनलाई गायनमा निर्देशक घिमिरेको श्रीमती भारती घिमिरेले साथ सघाएकी हुन् । यसअघि विपिनले ‘छड्के’को ‘भुटुटुटु’ गीत गाएका थिए ।
निर्देशक घिमिरे स्वयंको शब्द रचना रहेको यो गीतमा निर्देशक घिमिरेका ससुरा रञ्जीत गजमेरले संगीत भरेका छन् । तुलसी घिमिरेले ७ वर्षपछि यो चलचित्र मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् ।
आगामी कार्तिक महिनापछि छायांकन सुरु गरिने यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विपिन मुख्य रहनेछन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सुनील थापा लगायतका कलाकार पनि निश्चित भइसकेका छन् । त्यस्तै, यो चलचित्रमा अन्य कलाकार केही दिनमा फाइनल गर्ने निर्देशक घिमिरेले जनाए ।
प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेको यो चलचित्रको प्रोडक्सन डिजाइनरमा निर्देशक घिमिरेकी छोरी भावना छिन् । पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा यो चलचित्र निर्माण हुनेछ ।
यो चलचित्रको ५० प्रतिशत छायांकन नेपालका विभिन्न पहाडी भेगमा र ५० प्रतिशत छायांकन मुम्बईमा गरिने निर्देशक घिमिरेले जनाए ।