कस्तो चल्दैछ ‘बेहुली फ्रम मेघौली’ ?

२० असोज २०८१ १०:४९

बिहीवारबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । बिहीबार र शुक्रवार उत्साहजनक ब्यापार गरेको यो चलचित्रले शनिबार पनि राम्रो कमाइ गरेको हो ।

डीसीएन वितरण प्रमुख दीपक दंगालका अनुसार यो चलचित्रले शनिबार देशभरको हलमा राम्रो ब्यापार गर्‍यो । चलचित्रको पहिलो दिन र दोस्रो दिनमा दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथको कारण शनिबार दर्शक बढेको दंगालको भनाई छ ।

यो चलचित्रको मुख्य कलाकार स्वस्तिमा खड्का र निश्चल बस्नेत शनिबार विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया समेत लिए । सो अवसरमा दर्शकले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । हलमा आफ्नो अगाडि अभिनेत्री स्वस्तिमा खड्कालाई देख्दा केहीले अंगालो हालेर रोएका थिए ।

३० बर्ष उमेर पुगेकी एक युवतीको बिहेको कथा उठान गरेको यो चलचित्रको काठमाडौँ उपत्यकामा मात्रै नभई देशभरका ठुला सहर नारायणगढ, बुटवल, नेपालगन्ज, इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड र पोखरा लगायतका ठाउँमा पनि राम्रो दर्शक रहेको वितरक डिसिएनको भनाई छ ।

सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ ।

चलचित्रको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *