राजनीति र प्रेम समेटिएको ‘छक्का पञ्जा ५’को ट्रेलर

१९ असोज २०८१ १४:३१

यही असोजको २४ गते फूलपातीदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन हुन ५ दिन बाँकी रहदा निर्माणपक्षले शनिबार ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा दीपकराज गिरी घुस नखाने सरकारी कर्मचारीको भूमिकामा प्रस्तुत भएका छन् । कमेडी, राजनीतिक र पारिवारिक कथावस्तु समेटिएको ट्रेलरमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, लोकेन्द्र लेखक फिचर्ड छन् ।

यो पटक ‘छक्का पञ्जा ५’ को टिजर रिलिज नगरेर निर्माणपक्षले एकैपटक ट्रेलर सार्वजनिक गरेको हो । यसअघि सार्वजनिक दुवै गीतले चर्चा पाइरहेका छन्।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नविन श्रेष्ठ, दमन रुपाखेतीलगायतको पनि अभिनय रहेको छ ।

हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको चलचित्रमा दीपकराज गिरीको कथा र पटकथा छ् भने दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको संवाद छ । केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको यो चलचित्रमा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताको रुपमा छन् ।

चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, विपिन मल्लको सम्पादन, गम्भीर बिष्ट र सुनिल क्षेत्रीको कोरियोग्राफी, शम्भुजित बास्कोटा, दीपक शर्मा र बाबुल गिरिको संगीत छ । यो मितिमा अर्को दुई नेपाली चलचित्र ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि प्रदर्शन हुँदैछ । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको यो चलचित्रको अघिल्ला चार सिरिज सुपरहिट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *