यही कार्तिक १५ गते लक्ष्मीपूजाको दिन प्र्दर्शन हुने चलचित्र ‘एक्टर: टेक वन’ले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा प्रचारात्मक टुर गर्ने भएको छ । कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुने यो टुर काठमाडौं उपत्यका बाहिरका ६ मुख्य सहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा हुनेछ।
कार्तिक १ गते इटहरीबाट सुरु भई, २ गते चितवनको नारायणगढ, ३ गते रुपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगन्ज, ५ गते दाङको तुलसीपुर, र ७ गते पोखरामा सम्पन्न हुनेछ।
यो टुरमा चलचित्रका कलाकारहरु प्रदीप खड्का, अन्ना शर्मा, दिव्या रायमाझी लगायतका प्रस्तुति हुनेछ भने ‘कमेडी दरबार’का चर्चित कमेडियनहरू सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्रा शाकी (मिस पबी), सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवाल लगायतको सहभागिता रहनेछ।
राजन भुसालले निर्देशन गरेको चलचित्रमा आकाश बराल र राजन भुसालको लेखन छ । यो चलचित्रका निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनिश भुसाल हुन्। नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको सङ्गीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन्।
‘अदृत फिल्म्स’ र ‘मोती फिल्म्स’को संयुक्त प्रस्तुति रहेको चलचित्रमा दिप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय छ ।