महानायक राजेश हमाल अहिले आफ्नो कमब्याक चलचित्र ‘नरसिंहा अवतार’को छायांकनमा व्यस्त छन् । केहीदिन अगाडि बालाजुमा मुहूर्त गरेर छायांकन सुरु गरेको यो चलचित्रको अहिले काठमाडौंको विभिन्न स्थानमा सुटिङ भइरहेको छ ।
यसैबिच सुटिङ स्थलबाट एउटा तस्वीर सार्वजनिक भएको छ । सार्वजनिक तस्वीरमा महानायक हमाललाई प्रहरीको भूमिकामा देख्न सकिन्छ । तस्वीरमा हमालसगै अन्य तीन जना कलाकारहरुलाई पनि देख्न्छ सकिन्छ ।
तस्वीरमा हमालसँगै देखिएका कलाकार पनि प्रहरीकै पोसाकमा छन् । तीमध्ये एक पुरुषोत्तम सानु हुन्, जसले हालै सगरमाथा आरोहण गर्ने पहिलो नेपाल प्रहरीको कीर्तिमान कायम गरेका थिए ।
दिवाकर भट्टराईले निर्देशन गरिरहेको यो चलचित्रबाट हमालले ८ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्दैछन् । यो चलचित्रलाई लिएर आफ्नो लुक्समा समेत परिवर्तन ल्याएका हमाल निकै उत्साहित पनि छन् ।
आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो चलचित्रमा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, नीर शाह, सरोज खनाल, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, राजीव मानन्धर(टार्जन), शुसान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुवँर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ, दीपा शाही, प्रभु श्रेष्ठ, एभलिना खड्का, समाइरा थापा मगर, दीपेन्द्र सिम्खडा, दिनेश शाहीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्ने चलचित्रमा शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत, शाहिल खानको सम्पादन, राजु विक्रम थापाको छायांकन’ कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफि र वसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहनेछ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्रका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।