आज बिहीवारबाट चलचित्र ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको छ । चलचित्रको हिजो बेलुका काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा तारिफ बटुलेको चलचित्रलाई देशभरका मल्टिप्लेक्सले हालसम्मकै उच्च शो उप्लब्ध गराएका छन् ।
यो चलचित्रले देशभरबाट ३३५ शोज पाएको छ । यती धेरै शो, हालसम्म कुनै पनि नेपाली चलचित्रले नपाएको वितरण कम्पनी डीसीएनका प्रमुख अशोक शर्माले बताए । उनका अनुसार यो चलचित्रले यतिधेरै शोज पाएको ईतिहासमै पहिलो हो।
आज रिलिजको पहिलो दिन चलचित्रले राम्रो व्यापार गरेको खण्डमा भोली शुक्रबारबाट अझै केही शोज बढ्ने शर्मा बताउछन् । उनी भन्छन्,–‘नेपाली चलचित्र नै नलाग्ने हलहरुबाट पनि यो चलचित्रलाई लिएर निकै चासो बढेको छ । भोजपुरी, हिन्दी चलचित्र मात्र लाग्ने भेगबाट पनि यो चलचित्रको लागि माग आएको छ ।’
देशभर पाएको उच्च शोको फाइदा यो चलचित्रले उठाउन सकेको खण्डमा बक्स अफिसमा यसको ओपनिङ आक्रामक हुने देखिन्छ। स्वस्तिमा र निश्चलको निर्माण तथा मुख्य भूमिका रहेको यो चलचित्रले ३० बर्ष उमेर पुगेकी एक युवतीको बिहेको कथा प्रस्तुत गर्छ ।
सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ ।
चलचित्रको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ ।