चलचित्र ‘बेहुली फ्रम मेघौली’का निर्माताले यो चलचित्रको प्रचार गर्न प्रतियोगिताको घोषणा गरेका छन् । चलचित्रको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने घोषणा निर्माण टिमले गरेको हो ।
असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जनाएकी हुन् । उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ ।
सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ ।
स्वस्तिमा र निश्चलले मिलेर निर्माण गरेको चलचित्रको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ ।