निर्देशन लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने चलचित्र ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। निर्माणपक्षले सोमबार यो चलचित्रको मुख्य भूमिकामा सौगातलाई अनुबन्धित गरेको हो ।
रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई किरण नेपालीले निर्माण गर्दैछन् । सौगातले यसअघि किरणका तीनवटा चलचित्र ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’ र ‘हात्तीछाप’मा काम गरिसकेका छन् ।
यो चलचित्रमा सौगातको आगमन भएपछि धेरैले अभिनेता पल शाह बाहिरिएको हुनसक्ने आँकलन गरिरहेका छन् । तर, निर्माता नेपालीले यो बिषयमा केही पनि बोलेका छैन् । उनले केही समयपछि सम्पूर्ण कुराको जानकारी दिने बताए ।
लक्ष्मणले यसअघि निर्देशन गरेको चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ। ‘कल्ली’ को पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् भने चलचित्रको निर्माण प्रमुख सुरज आचार्य हुन्।
नयाँ वर्ष २०८२ को छेको पारेर चैत्र २९ गते प्रदर्शन हुने यो चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानहरूमा गरिनेछ, जसको तयारी भइरहेको छ। छायांकनको काम तिहारपछि सुरु हुने बताइएको छ।