‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत ‘काँधेकुरी’ रिलिज
३० भदौ २०८१ १५:३८
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो । प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ।
सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग चलचित्रका मुख्य पात्र विजय बरालको अनुवारमा देखिन्छ । त्यसपछि सुरु हुन्छ गीत, जसमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन् । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल र प्रकाश सपूत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । चलचित्रमा पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्न भने चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।
कात्तिक १५ गते रिलिज हुने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।