बिहेको माहोल दर्शाउँने ‘तेल भिसा’को गीत ‘तुकुनको मुकुन’
२८ भदौ २०८१ १:२२
आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ सार्वजनिक गरिएको छ ।
कृष्ण भारद्वाजको संगीत तथा निर्विकल्पम, कृष्ण भारद्वाज, शंकर अधिकारी (घायल) र नवीन बिकको शब्द रचना रहेको गीतमा शान्तिश्री परियार र साइराज खातीको स्वर समावेश छ ।
रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा चलचित्रका मुख्य अभिनेता विपिन कार्की, अभिनेत्री पूजा चन्दसहितका कलाकारहरु नृत्य गर्दै प्रस्तुत छन् । गीतको सेटअपले बिहेको माहोल दर्शाउँछ । विपिन र पूजा श्रीमान्-श्रीमतीको रुपमा देखिएका छन् ।
ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्की निर्मातामा छन् । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन तथा अजय खड्काको सम्पादन छ ।
शंकर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन अर्धवैसे र जवान गरी दोहोरो भूमिकामा छन् । चलचित्रमा वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको अभिनय छ ।