ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा चलचित्र ‘डेनी डेन्जरस’ निर्माणको घोषणा भएको छ । यो चलचित्रलाई निर्देशक निश्चल बस्नेतले निर्देशन गर्नेछन् ।
निश्चलले बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माण गर्ने औपचारिक घोषणा गरेका हुन् । निश्चलको यो पाँचौं निर्देशकीय चलचित्र हुनेछ ।
एक्सन जनरामा आधारित यो चलचित्रको पोस्टरले ग्याङ्स्टार शैलीलाई प्रतिबिम्बित गर्छ, जहाँ बन्दुक र चक्कुजस्ता हतियारहरू रगतले रङ्गिएको देख्न सकिन्छ ।
उनी गत वर्षको सुपरहिट चलचित्र ‘दिमाग खराब’ बाट ६ वर्षपछि निर्देशनमा फर्किएका थिए । यो चलचित्रलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख गरिएको छ ।
आगामी तिहारपछि छायांकन सुरु गरिने यो चलचित्रको कलाकारको बारेमा अहिले निर्माणपक्षले केही पनि जानकारी गराइएको छैन । निश्चालको ‘बेहुली फ्रेम मेघौली’ यही दशैँको घटस्थापनाको दिन प्रदर्शन हुँदैछ ।