निर्देशक सशान कँडेलले निर्देशन गर्ने चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री परीक्षा लिम्बु अनुबन्धित भएका छन्। बुधवार निर्माण पक्षले अभिनेता सिग्देल र लिम्बु सँग कागजी सम्झौता गरेको हो।
आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण ‘वार्डेन’को भूमिकामा देखिनेछन् भने चलचित्रमा परीक्षाको विशेष भूमिकामा अभिनय रहने छ । यसअघि, आर्यन र परीक्षाले चलचित्र ‘पुजार सार्की’मा सँगै काम गरेका थिए।
यही साताबाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्र आगामी फागुन १६ गतेबाट विश्वभर एकसाथ रिलिज हुने निर्माणपक्षले घोषणा गरिसकेको छ । बुधवार नै जापान, मध्यपूर्व र मलेसियाका लागि चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ। जापानका लागि यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाईँले वितरण अधिकार लिएका छन् भने मध्यपूर्व र मलेसियाका लागि आशिष पुरुषले वितरण अधिकार लिएका छन्।
‘होस्टेल’ शृङ्खलाले नयाँ स्टारहरू जन्माउनेको रूपमा ख्याति कमाएको छ। पहिलो ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला जस्ता कलाकारले डेब्यु गर्दै नेपाली चलचित्रमा सफलता हासिल गरेका थिए।
माधव शर्माको स्क्रिप्ट रहेको चलचित्रको कथा निर्देशक कँडेलकै हो। यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।
यो चलचित्रमा आर्यन र परीक्षासँगै ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गर्दैछन्।