साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्र ‘एक्लो’को निर्माणपक्ष अहिले अपर मुस्ताङमा छ । एक साताअघि काठमाडौंको भद्रकालीमा शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायांकन गरेर निर्माणपक्ष लगायतको टिम मुस्ताङ पुगेको हो ।
यो चलचित्रको यतिबेला अपर मुस्ताङमा ४० लाख मूल्यको भव्य सेटमा छायांकन भइरहेको छ । चलचित्र छायांकन सेटबाट केही तस्वीर सार्वजनिक गरिएको छ । सार्वजनिक तस्वीरमा चलचित्र सेट निर्माणको काम भइरहेको छ भने निर्देशक प्रदीप शाही, छायांकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकम, कार्यकारी निर्माता क्षितिज सुवेदी लगायतलाई देख्न सकिन्छ ।
लगभग ३० देखि ३५ दिनसम्म मुस्ताङमा छायांकन गरिने यो चलचित्रको सहनिर्माताको रुपमा जेमी बेकन जोडीएका छन् । यो चलचित्रको छायांकन छुसेल, छुसाङ, कागबेनी, जोमसोम लगायतका स्थानमा पनि गरिने निर्माणपक्षले जनाएको छ ।
त्यस्तै, यो चलचित्रको मुस्ताङ छायांकन सकेपछि निर्माणपक्षले काठमाडौंका केही स्थानमा छायांकन गर्नेछ । काठमाडौंको समय तालिका १५ दिन छुट्ट्याइएको निर्माणपक्षले जानएको छ ।
राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन शिवा, बागवीर पुनको निर्माण रहेको यो चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन् ।
बाबु श्रेष्ठको छायांकन र राजु तामाङको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन लगायतका कलाकारहरुको अभिनय छ ।