ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन सकिएको छ । काठमाडौं र ललितपुरमा खिचिएको यो चलचित्रको २५ दिनमा छायांकन सकिएको निर्माणपक्षले बताएको हो ।
गत साउनको २५ गतेबाट छायांकन सुरु गरिएको यो चलचित्रको प्राविधिक, कलाकारहरूको सहयोगमा २५ दिनमा नै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जनाए ।
सामाजिक कथावस्तुमा निर्माण भएको यो चलचित्रमा चर्चित लेखक बुद्धिसागरको लेखन, कथा र पटकथा छ । कृष्णबहादुर थापाको डिओपी, शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की यो चलचित्रका कार्यकारी निर्माता हुन् ।
आगामी माघको ११ गतेबाट प्रदर्शन हुने यो चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरूको अभिनय छ । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने छ ।