बागलुङबाट ‘वसन्त’ को छायांकन शुरु

२३ भदौ २०८१ ४:३६

चलचित्र ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूतको नयाँ चलचित्र ‘वसन्त’को छायांकन शुरु भएको छ । यो चलचित्रको हिजो शनिबार बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा मुहूर्तसङै छायांकन गरिएको हो ।

प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो ।

बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन चलचित्रको छायांकन हुने जनाइएको छ । दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी गरिएको निर्देशक सपूतले बताए ।

यो चलचित्रमा प्रकाश स्वयंको लेखन, निर्देशन र गीत पनि उनले नै तयार पारेका छन् । तीन करोड बजेट अनुमान गरिएको यो चलचित्र आगामी चैत २२ गतेबाट प्रदर्शन गरिँदैछ ।
 

सुसन प्रजापतिको छायांकन रहने यो चलचित्रमा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको पनि अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *