आफ्नो कामको तारिफ हुँदा खुसी लागेको छ: विजय बराल

२२ भदौ २०८१ ७:२७

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजरको धेरैले प्रसंशा गरे।

आम दशर्कले टिजरको तारिफ गर्दै चलचित्रबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि यसका निर्माता तथा निर्देशक उत्साही छन् । दर्शकको मायाले पोस्ट–प्रोडक्सनमा रहेको चलचित्रमा थप मेहनत गर्ने उत्साह पलाएको बताउदै चुनौती र जिम्मेवारी थपिएको महसुस पनि गरेका छन् ।

चलचित्रको मुख्य पात्र विजय बराल दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन् । आफ्नो कामको तारिफ हुँदा खुसी लागेको भन्दै उनी भन्छन्, ‘यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा उर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ ।’

यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन् । आफूले ‘पूर्ण बहादुरको सारङ्गीमा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए ।

उनी भन्छन्, ‘मलाई धेरैले व्यक्तिगत रुपमा र कमेन्ट गर्दा राम्रो प्रतिक्रिया आइरहेको छ । टिजर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइदिनु भएको छ ।’

यो चलचित्रको टिजरले सामाजिक सञ्जाल, युट्युबका कमेन्ट र व्यक्तिगत सन्देशहरूमा उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्माता प्याट्रिक सुवेदीले भने, ‘धेरै दर्शकले नेपाली चलचित्र प्रायः आमाको संघर्ष देखाउन केन्द्रित हुने तर बुवाछोराको सम्बन्धलाई ठूला पर्दामा विरलै देखाइने गरेको बताइरहेका छन् । चलचित्रको यो आइडियालाई पनि मन पराइरहनु भएको छ ।’

निर्माता पौडेलले टिजरले चलचित्रप्रति आशा र अपेक्षा दुवै बढाएको बताए । यो अपेक्षालाई अब जसरी पनि पूरा गर्नु आफूहरूको दायित्व भएको उनको भनाइ छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

नेपाल र अन्तर्राष्ट्रिय रूपमा वितरण गर्दै आएको सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथा भन्छ ।

महेश दवाडीको पटकथा तथा संवाद, विनोद र प्याट्रिकको लगानी रहेको चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *