‘बिगुल’ फुक्दै ‘बलिदान’को छायांकन शुभारम्भ

२२ भदौ २०८१ ६:५४

‘बलिदान’को ‘प्रविधि पूजा’सँगै छायांकन शुभारम्भ गरिएको छ। हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो।
यो चलचित्रको आज शनिवार मोरङको इटहरीमा पहिलो शट लिइएको छ। जसमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य रहेको छ।

निर्देशक सन्तोष सेनका अनुसार समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देवलगायतका कलाकारहरूले केही दिनपछि छायांकन सुरु गर्नेछन्।

यो चलचित्र निर्माणका लागि लामो समयदेखि अथक मेहनत, खोज अनुसन्धान, र सिर्जनासँगै प्री-प्रोडक्सन गरिएको निर्देशक सेनले बताए । उनले भारतका प्रख्यात प्राविधिकहरू र नेपालका सम्पूर्ण प्राविधिक तथा कला डिपार्टमेन्टका सदस्यहरूलाई एकत्रित गर्दै हरितालिका तीजको उपयुक्त दिनमा क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै ‘बलिदानको बिगुल’ फुकेको जनाए।

नेपालको माटोमाथि भइरहेको शोषण, निरङ्कुशता, र समाजका तथाकथित नाइकेहरूको अत्याचारमा आधारित रहेको चलचित्रको कथा निर्माण गरिएको छ ।

यो चलचित्रलाई भारतका चर्चित प्राविधिकहरू, द्धन्द्ध निर्देशक स्टन्डर साम र छायांकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टिमले निर्माण गर्नेछ । चलचित्रमा प्रयोग गरिने लाइट, साउन्ड, र क्यामेरा उपकरणहरू भारतको मुम्बईबाट ल्याइएको हो। चलचित्रको छायांकनको लागि इटहरीस्थित बिएमसी स्टुडियोमा भव्य सेट तयार गरिएको छ भने ६० प्रतिशत छायांकन सेटमै हुने जनाइएको छ।

आसुसेन फिल्मस् प्रा.लि र सन्तोष सेनको प्रस्तुति रहेको यो चलचित्रका निर्माता पवन ब्राडफोर्ड विस्ट र सह–निर्माता प्रेम पुरी हुन् । चलचित्रमा समीर भट्टका साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, र ऋचा शर्माको पनि मुख्य भूमिका रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *