अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिकामा चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ। निर्माता सरोज ओलीको निर्माण रहने यो चलचित्रको बुधबार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गरिएको हो।
निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने यो चलचित्रको कथा तथा पटकथा हरिवंश आचार्यले लेखेका छन् । अभिनेता आचार्यले यो चलचित्रको कथा सरोजलाई सुनाएपछि सरोजले यो कथामा चलचित्र निर्माण गर्ने बताएका हुन् ।
यो चलचित्रका लेखक तथा अभिनेता आचार्यले भने,-‘मैले सरोज ओली भाइलाई कथा सुनाएपछि यो कथामा म आफैं चलचित्र बनाउँछु भन्दै चलचित्रको मुख्य भूमिकामा पनि मलाई नै अनुबन्धित गर्नुभयो । कथा युनिक छ, र यो कथामा चलचित्र राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई एक करोड ५० लाख रुपैयाँमा निर्माण गरिने जनाइेको छ । अभिनेताद्वय हरिवंश आचार्य र कलाकार प्रकाशसँग निर्देशक दीपेन्द्रले पहिलो सहकार्य गर्न लागेका हुन् ।
यसअगाडि म्युजिक भिडियो निर्माण गरिरहेका निर्माता ओलीले पहिलोपटक चलचित्र निर्माण गर्न लागेका हुन् । विगत लामो समयदेखी कलाकारिताको क्षेत्रमा सक्रिय ओलीले भने, ‘राम्रो कथा पाएँ भने चलचित्र निर्माण गर्छु भन्ने सोचमा थिए । यत्तिकैमा हरिवंश दाइले हरिबहादुर जुत्ताको कन्सेप्ट सुनाउनुभयो । सुन्नेवित्तिकै मनपर्यो । त्यसपछि चलचित्र निर्माण गर्न तयार भएको हुँ ।’
यो चलचित्रको कथावस्तु र अन्य कलाकारहरुको बारेमा केही पनि बताइएको छैन् ।