नायिकासँगै निर्माता बन्दा दोहोरो दबाब छ: पूजा शर्मा

१७ भदौ २०८१ ९:००

यही शुक्रबार अर्थात भदौ २१ गतेबाट नायिका पूजा शर्माको निर्माण तथा अभिनय रहेको चलचित्र ‘रावायण’ प्रदर्शनमा आउँदैछ । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि पूजा सञ्चारकर्ममा थिइन् ।

उनी एक टेलिभिजनमा काम गरिरहँदा चलचित्र ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजन कर्ममा ‘ब्रेक’ लगाउँदै अभिनयको दुनियाँमा रमाइरहिन् । उनी यो चलचित्रमा पनि सञ्चारकर्मीकै भूमिकामा चलचित्रमा देखिँदैछिन् । यो चलचित्रको टिजर र ट्रेलरमा पनि पूजालाई हातमा बुम बोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ ।

‘पत्रकारितामा करिब १०–१२ वर्षकै ग्याप थियो । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । चलचित्रमा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक कन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुती दिँदा पुरानो सम्झना आउँदो रहेछ । त्यतिबेला ‘अहो बिर्सेछु यार’ भन्ने फिलिङ आउँदो रहेछ’, चलचित्रकी ‘वैभवी’ पात्र पूजा भन्छिन् ।

यो चलचित्रमा पनि आफ्नै कारणले कथा अघि बढेको बताउँदै उनले भनिन्,‘रावायणमा जे जति घटना भइरहेका हुन्छन्, ती सबैको कारण मै हुँ । चलचित्रमा हामीले एसिड आक्रमणदेखि लिएर देशमा मानिसहरुले कसरी शक्ति दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाएका छौं’।

उनी अगाडि भन्छिन्, ‘रावायणबाट म कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुन चाहन्छु । म बेस्ट मेकर भएर आउँ, त्यसकै लागि दर्शकलाई ‘रावायण’ दिँदैछु । म यसपटक मेकरका रुपमा मात्र फोकस छु’।

यो चलचित्रमा नायिकासँगै निर्माता बन्दा उनिमाथि दोहोरो दबाब छ । त्यहीकारण आगामी चलचित्रमा उनी एउटा मात्र विधा रोज्ने योजनामा छिन् । ‘कलाकार र निर्माता हुँदा दोहोरो दबाब हुँदो रहेछ । अब अर्को पटक कि म कलाकार हुन्छु कि मेकर’। उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *