यो पटकको दसैं अर्थात असोजको २४ गते फूलपाति बाट तीन नेपाली चलचित्र ‘छक्का पन्जा-५, १२ गाउंँ र ज्वाइँ साब’ प्रदर्शनमा आउँदैछ । यी तीन चलचित्रहरु एउटै मितीमा प्रदर्शन हुँदा दर्शकको रोजाइमा कुन चलचित्र पर्ला भन्ने प्रश्न पनि यतिबेला उब्जिएको छ ।
पछिल्लो समय हलमा दर्शकको उपस्थिति एकदमै कम छ । जसले, गर्दा पछिल्ला केही चलचित्रहरुले त पानीसम्म पनि भन्न पाएनन् । चलचित्र निर्माणको संख्या बढ्दै जाने र हलमा दर्शकको उपस्थिति घट्दै जाने क्रम दिनानुदिन बढ्दै गएको छ । यस्तो अवस्थामा पनि नेपाली निर्माता तथा निर्देशकले एउटै मितिमा चलचित्र प्रदर्शन गर्नलाई तछाड माछाड गरेको देखिन्छ ।
निर्देशक दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा-५’को प्रदर्शन मिती पहिले नै तय गरिएको थियो । धेरैलाई ‘छक्का पन्जा’ नाम सुन्नेबित्तिकै दसैंको याद आउने र यो चलचित्र दसैंमा रिलिज हुने बुझाई छ । तर, यही मितिमा अभिनेता विराज भट्टले निर्देशन गरेको चलचित्र ‘१२ गाउंँ’ पनि प्रदर्शनमा आउने पक्का भयो ।
दसैंको बिदा र दर्शकको रोजाइलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको यी दुई चलचित्रसम्म त ठिकै मानिएको थियो । तर, यी दुई चलचित्रको अलावा निर्देशक बसन्त निरौला निर्देशित चलचित्र ‘ज्वाइँ साब’ पनि यही मितिमा प्रदर्शन हुँदैछ । यो चलचित्रमा कलाकार जितु नेपालको प्रमुख भूमिका छ । उनको साथमा नायिका नीति शाह पनि प्रमुख भूमिकामा छिन् ।
‘ज्वाइँ साब’को केही दिन अगाडि सार्वजनिक टिजरले राम्रो चर्चा पाइरहेको छ । चलचित्रको रमाइलो टिजर हेरेपछि दर्शकले यही चलचित्र हेर्ने प्रतिक्रिया पनि दिएका छन् । जसले, गर्दा निर्माणपक्ष दंग छन् ।
कलाकार दीपकराज गिरी र नायिका वर्षा शिवाकोटिको प्रमुख भूमिका रहेको छक्का पन्जा -५ को पनि चर्चा राम्रै छ । चलचित्रको सार्वजनिक पहिलो गीतले पनि राम्रै चर्चा बटुलिरहेको छ । ‘छक्का पन्जा’को ५औं सिरिज भएकोले पनि यो चलचित्र सँग जुन सुकै चलचित्र भिड्न आएपनी कुनै प्रभाव नपर्नेमा निर्माणपक्ष ढुक्क देखिन्छ ।
यता, अभिनेता विराज भट्टको निर्देशन, निर्माण र अभिनय रहेको ‘१२ गाउँ’को चर्चा अझै माथि छ । चलचित्रको सार्वजनिक पोस्टर र टिजर रिलिजपछि यसको झनै चर्चा चुलिएको हो ।
समीर भट्टको प्रमुख भूमिका रहेको यो चलचित्र एक्सन प्रधानमा आधारित छ । चलचित्रको टिजर हेरेर कमेन्ट गरेका अधिकांश दर्शकले यो पटकको दसैंमा ‘१२ गाउँ’लाई समर्थन गर्ने जनाएका छन् । अबको केही दिनमा यो चलचित्रको पहिलो गीत रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ ।