निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’ आज तेस्रो दिनमा प्रवेश गरेको छ । शुक्रबारदेखि अल ओभर नेपाल प्रदर्शनमा आएको यो चलचित्र सुखद ओपनिङ सहित आज तेस्रो दिनमा प्रवेश गरेको हो ।
शुक्रबार सुखद ओपनिङ गरेको यो चलचित्र हेर्न शनिबार काठमाडौंका हलमा दर्शकको चाप राम्रो देखियो । शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरू शनिबार बेलुकीको शोजमा दर्शक भेट्न बनेपा समेत पुगेका थिए ।
चलचित्रको थप प्रतिक्रिया लिन बनेपा पुगेकी नायिका आँचल शर्मा दर्शकको माया र चलचित्रलाई मिलेको सकारात्मक प्रतिकृयाले निकै नै उत्साहित देखिइन् । त्यस्तै, नायक विवेक कर्मचार्यले पहिलो चलचित्रबाट नै दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुशी भएको बताए ।
यो चलचित्र हेरेका प्राय: दर्शकले यो चलचित्रको संवाद ‘पानी खानु हुन्छ’लाई कण्ठै बनाएको पाइयो । अधिकांश दर्शक ‘पानी खानु हुन्छ’ भन्दै हलबाट निस्किएका थिए ।
यो चलचित्रललाई दर्शकले आगामी दिनमा पनि यसैगरी साथ र माया दिएको खण्डमा चलचित्रको दोस्रो सिरिजको पनि चाडै घोषणा गर्ने बताए ।
एलआरेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । प्रदीप भारद्वाजले लेखेको चलचित्रमा सुदिप बरालको डिओपी छ ।
चलचित्रमा आँचल र विवेकको अलावा किरण केसी, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, रविन्द्र खड्का, विजय लामा लगायतका कलाकारहरुको पनि अभिनय छ ।