भदौ १४ अर्थात भोली शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘वर एण्ड वधु’को काठमाडौंमा प्रिमियर गरिएको छ । यो चलचित्रको बुधबार बेलुकी ललितपुरको लाबिम मलमा भव्य ‘रेड कार्पेट मिरर वाक’ प्रिमियरको आयोजना गरिएको हो ।
चलचित्रको ‘रेड कार्पेट मिरर वाक’ प्रिमियर कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरू केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक र यो चलचित्रका कलाकारहरू आँचल शर्मा, किरण केसी, विवेक कर्मचार्य, कुसुम शर्मा, विजु पार्की लगायतको उपस्थिति थियो ।
यो चलचित्रका निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउन कुनै कसुर बाँकी राखेनन् र नेपालमै पहिलोपटक ‘रेड कार्पेट मिरर वाक’ नामक प्रिमियरको आयोजना गरेका थिए । उच्च क्यान्भासमा खिचिएको यो चलचित्र हेर्ने सबैले उत्कृष्ट प्रतिक्रिया दिए । त्यस्तै निर्देशक चाम्सको निर्देशकीय पाटोले पनि निकै तारिफ पाएको छ ।
यो चलचित्र हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एउटा उत्कृष्ट र हेर्नैपर्ने चलचित्र बनेको बताए । यस्तै, महजोडीले यो चलचित्रको दृश्य, कथावस्तु र कलाकारको अभिनयको खुलेरै तारिफ गरे ।
त्यस्तै, चलचित्र हेरेका अधिकांशले नव–नायक विवेक कर्माचार्यको तारिफ गरेर थाकेनन् । उनले यो चलचित्रमा गरेको मिहेनत र अभिनयको खुलेरै तारिफ गरेका थिए ।






