नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘रावायण’को नयाँ गीत रिलिज गरिएको छ । यो चलचित्रको टिजर र पहिलो गीतले चर्चा बटुली रहेको बेला निर्माणपक्षले बुधवार ‘तिम्रै लागि’ बोलको नयाँ गीत रिलिज गरेको हो ।
भदौ २१ गतेदेखि रिलिज हुने यो चलचित्रको सार्वजनिक गीतमा पल र पूजा रोमान्टिक अवतारमा प्रस्तुत छन् । प्रेमभाव र प्रेमिल शब्दहरुले भरिएको यो गीतको भिडियोमा पल र पूजाले एकअर्का बिना बाँच्न नसक्ने जनाएका छन् ।
यो गीतको भिडियो हेर्दा चलचित्रको दोहोरो भूमिकामा रहेका नायक पल शाहको दुइटै भूमिकाले नायिका पूजा शर्मा सँग प्रेम गरेको र सोही प्रेमका कारण युद्द निम्तिएको अनुमान गर्न सकिन्छ । यो गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ ।
हेर्दा निकै रोमान्टिक देखिने यो गीतको सुरुवातमा पल र पूजालाई जंगलको बिचको बाटोमा कारमा यात्रा गरिरहेको देखाइएको छ । जहाँ उनीहरूबिच रोमान्टिक भाव देखिन्छ । त्यसपछि उनीहरूलाई काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा देखाइएको छ । कोरियोग्राफर रामजी लामिछानेले भिडियोमा गज्जबको कोरियोग्राफी देखाएका छन् ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको यो चलचित्रलाई नायिका पूजा शर्माले एकल निर्माण गरेकी हुन् । यो चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता रहेका छन् ।
निर्देशक थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।
यो चलचित्रमा पल र पूजाको अलवा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।